राजापुरका थारु र आर्थिक, सामाजिक, साँस्कृति, राजनीतिक अवस्था

इतिहास २९ पुष २०७६, मंगलवार Hits : 644
राजापुरका थारु र आर्थिक, सामाजिक, साँस्कृति, राजनीतिक अवस्था

सोम डेमनडौरा

राजापुर भन्नाले पश्चिम पहाडका लागि तराईको मुख्य ब्यापारिक केन्द्र मानिने बजार थियो । खास गरेर जुम्ला, हुम्ला, दैलेख, कालिकोट, अछाम, लगायतका पहाडी क्षेत्रका लागि रोजीरोटी नुनसँग सम्बन्ध राख्ने बजार थियो । राणा शासन कालमा खास गरेर यहाँका जमिन्दारहरुले भारतीय ब्यापारीलाई ल्याएर बस्ती बसाएको ठाऊँ हो । बर्दियाको सिमा ब्यापारिक नाकाको रुपमा प्रयोग गरिन्थ्यो । बर्दिया देखि पश्चिम र उत्तरका जिल्लाका मानिसहरुले आफ्नो सामान किनमेल गर्न, औषधी उपचार गर्न लगाएतका कामका लागि नजिकको भारतको बजार बहिराइच, टिकुनीया जाने गर्थे ।

बर्दियाको ११ गाबिसमा शाह र राणा बंशीय जमिन्दारको मुख्य जमिन्दारी थियो । उनीहरुले आफूलाई सामान ओसार पसार गर्न सहज बनाउन भारतीय सिमा क्षेत्रका ब्यापारीहरुलाई राजापुरमा बसाएका थिए । जसको फलस्वरुप उनीहरुको बसोबास लम्बिदै गएको थियो । खास गरेर मुसलमान समुदायका ब्यापारीहरु राजापुर बजारमा ब्यापार गर्दै आएका छन् अहिले सम्म ।

थारुहरु यहाँका आदिबासी धर्तिपुत्र हुन् । ११ गाबिसमा सन् २०११ को जनगणना अनुसार थारुको जनसंख्या ६९,२७९ (जम्मा जनसंख्याको ७३.३७ प्रतिशत) छ । यहाँको सबभन्दा ठुलो जनसंख्या रहेको समुदाय हो । यहाँका बाघ, भालु, हात्तिसँग मात्र होइन औंलो र मलरीया जस्तो रोगसँग लडेर बस्ती योग्य जमिन बनाएका प्रमुख पात्र हुन् । उनीहरुको मुख्य पेशा कृषि हो । उनीहरुमा शिक्षा नभएकाले घर खेत आफ्नो नाममा हुनुपर्छ भन्ने चेतना थिएन । जमिन प्रशस्त हुने र खेतीपाती पनि राम्रै हुने भएकाले प्रशासनीक काम या राजनीति तिर ध्यान गएन । एक ठाउँमा जमिन मन परेन, या कसैले चाहेमा सित्तैमा पनि दिन्थे । थारुका लागि जमिन भन्ने ठुलो कुरा थिएन । सम्बन्ध र सामाजिक, साँस्कृतिक मेलमिलापको भावना ठुलो थियो ।

राणा शासन कालमा खास गरेर जंग बहादुर राणाको शासन कालमा शाह बंशीय र राणा खान्दनका साना रजौटाहरु यो क्षेत्रमा पसेका हुन् । शासन उनीहरुको थियो । त्यत्तिबेला यस्तो पनि थियो रे, जति सम्म उनीहरुको आँखाले जमिन या सिमाना हेर्न भ्याउँथ्यो त्यत्ति सम्म मेरो जग्गा हो भन्थे । जुग जमाना सामान्य थियो । अलिक ठुला बडाले मेरो जग्गा हो भन्यो भने त्यत्तिले काफी हुन्थ्यो । थारु जात नै सोझो र मिजासिलो । काम नै पूजा थियो । अशिक्षित भएकाले पनि हो, होजाई ट हजुर, सबभन्दा सहज भाषा बन्ने र कुराको छिनोफानो हुने ।

बिगतमा थारु नाम भौंरा टप्पा र अहिले राजापुरले चिनिने ११ गाबिस अन्नको भण्डार हो । अन्नको भण्डार भएको र थारुलाई सहजै कजाउने भएकाले शासकहरुको आँखा लाग्नु स्वभाविक हो । थारुहरु कमैया र दाश बन्दै गए । शासकहरु मालिक जमिन्दार बन्दै गए । कमैयालाई छलकपटले ऋणको भारी बोकाउँदै भूदाश बनाईयो ।

Population Diversity of Rajapur, Bardiya/National Population and Housing Census 2011
SNVDCTotal PopBrahman/ChhetriMagarTharuNewarMuslimDalitThakuri
1Badalpur68817017580901133039
2Bimmapur10053108937771108024509147
3Daulatpur752490415634400129101
4Gola6814202764392802363136
5Khairi Chandanpur711560511254061516629191
6Manau63579051314022890717441
7Manpur9395679897889012480188
8Nayagaun5783175115411009162
9Pashupatinagar69451803163833210453790
10Patabhar14755282663106745211714262
11Rajapur12802171196885394755436137
 Total         94,424                    12,794         991       69,279          351            852       5,119       2,394
 Percentage13.551.0573.370.370.905.422.54

सामाजिक अवस्था

थारु समुदाय एकै ठाऊँमा घर, गाऊँ बनाएर बस्ने जाती हुन् । खास कैख सामुहिक कामकाज मन परैना समुदाय । गाउँक सझ्या डिउँटा रना ओ सक्कुजे पूजा म सामेल हुइना, कुल्वा बेगारी संग गाउँभरीक मनै कर्ना, हरेक बरष गाउँक कुल्वा व गल्ली लग्ना, गाउँभरीक मनै टै टिउह्वारम एक्क ठाउँम जिटा मर्ना, बिवाह या मरणीमा गाउँभरीक मनै जैना यी सक्कु सामुहिक व सामाजिक एकताक प्रमाण हो ।


बेठबेगारी या कुलापानी जस्तोसुकै सामुहिक काम समापन पछि थारु समुदायमा बरघरको घरमाचुकी खाने चलन छ । यो चुकी खाँदा सबै घरबाट चामल, जाँड रक्सी, तरकारी संकलन गर्ने, कोही माछा मार्न जाने या एकै ठाउँमा भई जिटा मार्ने चलन छ । थारु समुदायको यो उदाहरणी सामाजिक संरचना हो । 

थारु समुदायलाई सञ्चालन गर्ने प्रमुख माध्यम या नेतृत्व बरघर र गुरुवा हुन् । बरघरको नेतृत्वमा गाउँको ठन्वा हेर्ने, देवता चलाउने जिम्मा गुरुवाको हुन्छ । गुरुवाले गाउँको सामुहिक पूजापाठ गराउने, कसैको घरमा समस्या आएको छ भने देवता सम्हाल्ने या झारफुक गर्ने कार्य गर्दछ । यि दुई मुख्य अगुवाहरुको अर्का सहायक चौकिदार र केसौका पनि हुन्छन् । थारु समुदायमा सकभर गाउँभित्रकै सुढेनी हुन्छ । उनैको ज्ञानले गाउँघरमा बच्चा जन्माउन या जन्म संस्कार पूरा गरिन्छ । गाउँमा दाईभाई अंशबण्डा गर्नुपर्यो भने बरघरलाई गुहारिन्छ । यसरी हरेक सामाजिक काममा गाउँका मान्छेको सामुहिक संलग्नता हुने गर्छ थारु समुदायमा ।

थारु समुदायमा एकताको भावना, सामाजिक भावना ब्याप्त त छ तर समय अनुसार परिस्कृत हुन नसक्नु या राज्य व्यवस्थाका कारण थारु समुदायमा केही समस्या बढ्दै गएको देखिन्छ । थारु समुदायका मुख्य धरोहरका रुपमा रहेका बरघरलाई कानूनी मान्यता नदिंदा र राजनीतिक दखल हुँदा थारुको सामाजिक जीवनमा नै असर गरेको पाइन्छ । एकातिर बरघरले गाउँभित्रका समस्या समाधन गर्ने प्रणाली हुनु र अर्कोतिर कतिपय अपराधीक क्रियाकलाप पनि बरघरले नै मिलाउने जस्ता घटनाले यो संस्थामा आँच आएको देखिन्छ । मेलमिलाप प्रणालीले केही सामान्य घटनालाई सहज बनाई सम्बन्ध त सुधार्छ तर कानूनी तवरले मिलाउनु पर्ने घटना या अपराधिक घटनाले समुदायलाई नै कमजोर बनाउँछ । दण्डहिनताको संस्कृति बढ्दै गएमा सामाजिक एकता र मेलमिलापमा असर पर्न गई आर्थिक र सामाजिक अस्तित्वमा समेत ह्रास आउँछ ।

यतिबेला, बरघर प्रथालाई कानूनी मान्यता नदिनु, राजनीतिक हस्तक्षेप हुनु, बरघरलाई बेठबेगारीको काममा मात्र लगाउने तर बजेत बिनियोजन, रणनैतिक विकास, विकास निर्माणका कार्यमा संलग्न नगराउँदा थारु समुदायको सामाजिक अवस्था बिग्रिंदै गएको छ ।

साँस्कृतिक अवस्था

भौंरा टापु उर्फ ११ गाबिस सास्ँकृतिक रुपले सम्पन्न ठाउँ मानिन्थ्यो । यहाँ मिश्रित थारु समुदायको बसोबास छ । बुह्रान, भौंरा, मल्ह्वारा समुदायको मिश्रित बसाई छ । बुह्रान भन्नाले दाङ्ग बाट बसाई सराई गरेर बाँसगढी, बनियाभार, पदनाहा, ठाकुरद्धारा, डेउढाकला लगायतका ठाउँबाट ११ गाबिसमा प्रबेश गरेका दंगाली थारु भाषि दंगाहा थारु समुदाय, कैलाली मुलथलो भएका कथरिया थारु जसलाई मलहोरीया भनियो र केही देसौरी भाषिका थारु समुदायको मिश्रित संस्कृति हेर्न पाइन्छ । बिभिन्न थारु भाषीकाको समिश्रणले अहिले भौंरैह्या थारु भाषा पनि भन्ने गरिन्छ ।

यसर्थ राजापुर क्षेत्रमा संखिया नाच, हुर्डुङ्ग्वा, छोक्रा, मघौटा, लठ्ठौह्वा, मुंग्रउह्वा, बर्का नाच, कठ्घोरी, झुम्रा लगायतका नाचहरु नाचिन्थे । दिउँसोभरी कामले जति थकित भए पनि रातभरी नाच्ने गर्ने थारु समुदायका महिला र पुरुषहरु । यसरी उनीहरुमा साँस्कृतिक क्रियाकलापले पनि सामाजिक सम्बन्ध कसिलो बनाएको थियो । हरेक पर्वमा आफ्नै किसिमका थर अनुसारका पूजा मात्र नभई गाउँका सझिया देवतालाई पूजा गर्ने, पर्वमा हरेकको घरमा खान, भेटघाट गर्न जाने, नाचगान सहित रमाइलो गर्न जाने अद्धितीय संस्कृति थियो । तर अहिले भने नाचगान भने एकदमै कम भई सकेको छ । पछिल्लो पूस्ताले ईतिहासको दस्ताबेजमा खोज्नुपर्ने अवस्था भएको छ ।

थारु समुदायका नाचहरु प्रायः गरेर रातमा प्रस्तूत गरिन्थे । यसो भएकाले खास गरेर द्धन्द्धको असर थारु समुदायको संस्कृतिमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । द्धन्द्धकालमा रातमा नाचिने नाचहरु लगातार एघार बर्ष स्थगित हुँदा फेरि उही चमकमा उघार आउन सकेनन् । यसो त खस संस्कृति बाहेक अन्य समुदायको संस्कृति माथि राज्यको उदासिनता र हस्तक्षेप नीति पनि प्रमुख कारण हो । अहिले गैर थारुको संस्कृति ग्रहण गर्ने र आफ्नो मौलिक संस्कृति धरासायी बन्दै गएको अवस्था छ ।

आर्थिक अवस्था

थारु समुदायको आय आर्जनको मुख्य स्रोत भनेको कृषि हो । यस बाहेक आर्थिक उपार्जनको कुनै बिकल्प थिएन । धान, गहुँ, मकै र तोरी मुख्य बाली हुन् । घरमा गोठभरी गाई, भेंडा या हरेक घरमा सुँगुर भएता पनि आय आर्जन तथा ब्यवसायीक तरिकाले पालिंदैन । कृषि मुख्य पेशा भएकाले गाई गोरु जोत्नका लागि प्रयोग हुने र भेंडाबाख्रा मासुका लागि प्रयोग हुन्छन् ।

कृषि प्रणाली परम्परागत छ । ब्यापार ब्यवसायमा लाग्न सकेका छैनन् । ब्यवसायिक कृषि या पशुपालनमा जान सकेका छैनन् । जे गर्यो, उही बर्षभरी खान पुग्ने खेती हो । अझ बर्षभरी पनि पुग्दैन । यसैले गर्दा थारुहरु आर्थिकरुपमा कम्जोर भएको समुदाय हो । उनीहरुमा नयाँ खालका उन्नत व्यवसायमा लाग्न नसक्नु, ब्यापार तथा उद्योगमा दक्षता नहुनु, सरकारी र गैर सरकारी तथा प्रशासनीक नोकरीमा नहुनु, खेती परम्परागत नै हुनुले थारु समुदाय अझै पनि गरिबीको रेखामुनी छन् ।

११ गाबिसको सन्दर्भमा हेर्ने हो भने यो अझै दर्दनाक छ । कुन थारु होला त्यस्तो जो जमिन्दारी प्रथा या भनौ बतैया, कमैया, बेगारीबाट पीडित थिएन । जब उनीहरु आफ्नै जग्गा बाट भूमीहिन हुन पुगे आर्थिक रुपमा त्यसै पनि कम्जोर हुन गए ।

राजनीतिक अवस्था


थारु समुदायका नेताले गरेको राजनीति झोल बोकुवा राजनीति हो भन्ने थारु समुदायको थम्याई छ । बिगतमा केही प्रधान पञ्च भएता पनि उनीहरु खासै राजनीतिक हैसियत बनाउन सकेनन् । जतिसुकै जुन ठाउँमा पुगे पनि उही पार्टी नेतृत्वको झोल बोक्नु, एस म्यान, हस हजुर बाहेक आफ्नो राजनीतिक पकड स्थापित गर्न नसकेको सर्बबिदितै छ । यसो हुनुमा थारु नेतृत्वकर्ताको मात्र कम्जोरी देखाउन खोजिएको भने होइन । निश्चय पनि नेपाली कांग्रेस, एमाले, माओबादी जुनसुकै पार्टीले जस्तोसुकै समाबेशी अवधारणा, सर्बहारा बर्गको हित र अधिकारका कुरा ल्याए पनि कुरा एउटा र गराई अर्कै भएको छ । थारु बाहुल्य भएको क्षेत्रमा अर्कैको राजनीति छ । त्यहाँ विकास, निर्माण, लोकतन्त्र, सुशासनको कुरा हुँदैन । खाली राजनीति कसरी टिकाउने भन्ने खेलो छ ।

अझ भर्नौ ११ गाबिसको राजनीति झन् जालझेल र भ्रमपूर्ण छ । बिगतमा राप्रपाको हालीमुहाली हुँदै कांग्रेसको नेतृत्व हुँदा सुनको चरा र स्विजरल्याण्डको बनाउने सम्मका भाषण दिए । त्यो पनि राजनीतिक रुपमा कुनै अदृष्य कुर्सीमा बन्यो होला राम जानुन् । पछिल्लो समयमा एमाले बोकेको सर्बहारा बर्गको नारा र माओबादीले ल्याएको बर्गीय नारा कम्ति महत्वपुर्ण नभएको होइनन् । भूमिहिन, सर्बहारा, कमैया, सुकुम्बासी र किसान एमालेकै लर्को लाग्यो । सबै राताम्य देखिए । कमैया, सुकुम्बासी, किसानका नेतृत्व उनै शासक र जमिन्दारले नै गरे । माओबादीको जनयुद्धकालमा एघार गाबिसमा थारुलाई नै मुख्य टार्गेट बनाइयो । माओबादीले चाहेको सामन्तबादको अन्त्य । ११ गाबिसमा भएका सामन्ती जमिन्दारको शासन अन्त्य गर्ने । यिनै मुलनारामा थारुहरु आकर्षित भए । यसो हुँदा थारु सबै माओबादी भए तत्कालिन सरकारको नजरमा । फस्वरुप थारु समुदायले यातना मात्र भोगेनन्, उनीहरुको अंगभंग गरियो, उठिबास गराइयो र कैयौंले ज्यान गुमाउनु पर्यो । द्धन्द्धको सबभन्दा ठुलो क्षति भोग्ने थारु समुदाय नै हो ।

यसरी कैयौं पार्टी आए । थारु समुदाय भित्रकै अगुवालाई बिभिन्न पार्टीभित्रको गुट उपगुट बनाई उनीहरुलाई छिन्नभिन्न बनाइयो । सामाजिक दायित्वभन्दा माथि पार्टी भयो । फलस्वरुप सामाजिक संरचना बिग्रनुका साथै राजनीतिक रुपमा समेत बलियो हैसियत स्थापति गर्न नसकेको अवस्था छ । यतिबेला ११ गाबिस भित्र माओबादीको प्रमुख स्थान जस्तो देखिएता पनि भूमिका भने कतै देखिंदैन । थरुहटले थारुहरुको मुद्दा उठान गर्छ र यसले केही गर्ला भन्ने आशा नजागेको होइन । तर यो आफैमा एक क्षेत्रिय पार्टी हुनु र पार्टी नेतृत्व नै संकिर्ण हुनुले पनि त्यत्ति बलियो देखिंदैन ।

जुनसुकै राजनीतिक दलले अगुवाई गरोस् त्यो सँग सरोकारको बिषय होइन । सरोकारको बिषय यति मात्र हो कि त्यो पार्टीले थारु समुदायको सामाजिक संरचना निर्माणमा ध्यान पुगाओस् । जनताका पीरमर्का बुझोस् । विकास, निर्माण, लोकतन्त्रको अनुभूति, सुशासन प्रबद्र्धन, न्यायिक राज्यको स्थापना, दण्डहिनताको अन्त्य गरोस् । त्यहाँका जनताका न्यूनतम अधिकार, मानव अधिकारको रक्षा गरोस् । आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको प्रत्याभूति गराउने खालको राजनीतिक, प्रशासन हुन जरुरी छ ।

हालः नेपालगञ्ज

जनआवाजको टिप्पणीहरू