थारू कथाका रोचक पात्र

इतिहास २६ असार २०७७, शुक्रबार Hits : 1343
थारू कथाका रोचक पात्र

दुखुवा थारूले दु:ख गरेर देउखुरीमा जग्गा जोड्छ। जमिनदारले त्यही जग्गा जफत गर्छ। सुखसँग गरिखान नदिएपछि दुखुवा गाउँ छाड्न बाध्य हुन्छ। गाई, गोरू र भेडा फुकाएर पत्नी दुखनियाँ, छोरी बिपटिया र छोरा मंगलवाका साथमा ऊ नयाँ यात्रामा निस्कन्छ।

चार जोडी पाइला अगाडि बढ्दै जान्छन्। पसिना बगाएको खेतबारी, हरिया फाँट र हुर्किएको गाउँ पछाडि छुट्दै जान्छ।

यात्राका संघर्ष पार गर्दै उनीहरू डाँडो काटेर फराकिलो फाँटमा पुग्छन्। उनीहरूलाई यही फाँट नयाँ बस्ती बसाउन उपयुक्त लाग्छ। कयौं दिन मौरीझैं खटिएर बालीनाली उमार्छन्। खेतबारी हराभरा पार्छन्। अनि त्यो ठाउँलाई नाउँ दिन्छन्- कैइलबारी। यसको अर्थ हो हरियाली।

मान्छेका जिब्रो बटारिँदै जाँदा कैइलबारी 'कैलारी' हुँदै 'कैलाली' भनिन थाल्छ।

यो साहित्यकार छविलाल कोपिलाले लेखेको बालकथा संग्रह 'कैलारी' को कथा हो। कैलारीमा प्रमुख पात्र दुखुवा भए पनि यो समग्र थारू समुदायको दुःखको कथा हो।

'जमिनदारले जग्गा हड्पेपछि पनि थारूहरूलाई सुख भएन। उनीहरू हातमुख जोड्न तिनै जमिनदारका घरमा दासझैं कमलरी भएर बस्नुपर्यो,' छविलालले भने, 'लामो समय शोषित भएर बसेपछि उनीहरू बसाइँ सर्न थाले। यही यथार्थ मैले कथामा उतारेको हुँ।'

एसिया फाउन्डेसनको 'लेट्स रिड' अन्तर्गत 'सिर्जनालय' संस्थाले थारू बाल किताब परियोजना सञ्चालन गरेको हो। यसअन्तर्गत छवटा किताब प्रकाशित भए- गिद्रक भोज (स्यालको बिहे), कैलारी, हमार ढुधु, लहेआ अऊर बछिया, खुट्रुक्या र भुख्ली।

कृष्णराज सर्वहारी, शान्ता चौधरी र छविलाल कोपिलाद्वारा लेखिएका यी किताब छ जना कलाकारले सचित्र डिजाइन गरेका छन्। तीमध्ये 'कैलारी' मा कैलालीकै कलाकार मीठू थारूले लोकचित्र 'अष्टिम्की' बनाएका छन्। उनको चित्रले यस वर्ष नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा) को विशेष पुरस्कार पाएको छ।

सिर्जनालयले सुरूमा थारू साहित्यकार र चित्रकार भेला गराएको थियो। चित्रकारसमक्ष कथा राखेपछि उनीहरूले आफ्नो रोजाइको कथामा काम थालेका थिए। मीठूलाई कैलारीको कथाले आकर्षित गर्‍यो। यस्तो घटना उनले आफैं देख्दै-भोग्दै आएकाले पनि बढी मन छोएको उनी बताउँछन्।

'यो कथामा थारू समुदाय शोषक-सामन्त वर्गबाट कसरी पीडित भए भन्ने सचित्र वर्णन छ। कुनै समय दाङका थारूहरू कसरी बसाइँ सर्न बाध्य भए भन्ने बडो मार्मिक बयान कथामा छ,' उनले भने, 'यो मेरो पितापुर्खाले भोग्दै आएको कुरा हो।'

हाल कैलालीमा रहेका मीठूको पुर्ख्यौली बासस्थान दाङ रहेछ। आफ्नो जग्गा हुञ्जेल उनीहरू सम्पन्नै थिए। अन्य समुदाय आएर जग्गा कब्जा गरेपछि सबथोक छाडेर कैलाली सरे।

मीठूको परिवारले लामो समय जमिनदारकहाँ काम गर्‍यो। बाह्र वर्षको उमेरसम्म जमिनदारका गाईभैंसी चराएको उनको अनुभव छ। पछि काठमाडौंका एक जनाले काम गर्ने मान्छे खोज्दै आएपछि मीठूले पढ्न-लेख्न पाए। साँझ–बिहान घरको काम गर्दै स्कुलदेखि कलेजसम्मको पढाइ सके।

सानैदेखि मीठूलाई कलाप्रति झुकाव थियो। गाउँघरमा आँगन र खेतबारीमा खेल्दा उनी माटोबाट जीवजन्तु र देवदेवीका मूर्ति बनाउँथे। गिलो माटोमा सिन्काले विभिन्न आकृति कोर्थे। काठमाडौंको वातावरणमा मिसिएपछि उनले आफ्नो यही कलालाई व्यावसायिक रूपमा अघि बढाए। त्यसमा पनि आफ्नै समुदायको लोक चित्रकलालाई प्राथमिकता दिएका छन्। पछिल्लाे समय उनी थारू राजा मानिने डांगीसरणकाे मुर्तीहरूमा काम गरिरहेका छन्।


मीठू थारू आफूले बनाएको डांगीसरण मुर्तीसँग।

थारू लोकचित्र मानिने अष्टिम्कीमा भने सृष्टिको उत्पत्ति कथा चित्रण गरिएको हुन्छ। जसरी हिन्दुहरू ब्रह्मालाई सृष्टिकर्ता मान्छन्, थारूहरू गुरूबाबालाई मान्छन्। जलमग्न संसारलाई गुरूबाबाले पाताल लोकबाट अमरमाटो ल्याएर सृष्टि गरेको विश्वास गरिन्छ।

गुरुबाबा माटो ल्याउन सुरूमा गंगटो पठाउँछन्। गंगटो लुकीलुकी जान्छ, तर पाताल लोकका पहरेदारको नजरबाट बच्न सक्दैन। त्यसपछि बिच्छी जान्छ, ऊ पनि समातिन्छ। अन्तिममा गड्यौंलाले आफ्नो पेटभित्र माटो बोकेर ल्याउँछ। यसरी संसार उत्पत्ति हुन्छ र हरियाली छाउँछ।

गुरूबाबाले सुरूमा माछा उत्पत्ति गरे। यसैलाई संकेत गर्न थारू चित्र तलबाट बनाउने चलन छ। त्यहाँ पानीको स्रोत र माछा बनाइन्छ। त्यसपछि गुरूबाबा र उनका भक्त बनाइन्छ। जनश्रुतिअनुसार ठूलो संकट आउँदा गुरूबाबा आफ्ना भक्त र ग्रन्थ लिएर सुरक्षित बासस्थान खोज्दै गएको मानिन्छ। चित्रकार त्यसपछि बिच्छी, कछुवा, गोही र अन्य जलचर बनाउँछन्।

पानीको स्रोत र जलचरको बीचमा कदमको रूख बनाइन्छ। कृष्णलाई त्यही रूखमा बाँसुरी बजाइरहेको देखाइन्छ। त्यहाँ बाँदर सँगसँगै हुन्छन्। कदमको रूख कृष्णको मनपर्ने रूख हो भन्ने थारूहरू विश्वास गर्छन्। त्यस्तै, बाँदरले सिद्धपुरुषको बच्चाको संकेत गर्छ।

थारू लोककथा हिन्दु धर्मभन्दा केही फरक छ। पानीको स्रोतमाथि दायाँतर्फ लिलीको पात हुन्छ। त्योनजिकै १२ टाउको भएको रावण बनाइन्छ। जबकि, हिन्दु धर्ममा रावणका १० वटा टाउको हुने विश्वास छ। थारूहरू रावणलाई रौना, रोइना, उम्रउवा, बारमुरवा लगायत नामले सम्बोधन गर्छन्।

रामायणमा सीतालाई पतिव्रता नारीका रूपमा मानिन्छ। थारू लोककथामा भने सीता रावणप्रति आकर्षित भएको प्रसंग छ।

राजा जनकको दरबारमा राखिएको धनुबाण जसले उठायो उसैसँग सीताको बिहे हुने सर्त थियो। अयोध्याका राम उक्त धनुबाण उठाउन सफल भए। तर, सीतालाई रामभन्दा पहिल्यै धनुबाण उठाउन आएका रावण मन परेको हुन्छ। त्यसैले, बिहेपछि पनि उनी सधैं एकान्तमा लुकेर एउटा पिर्का हेर्छिन्।

रामकी बहिनीले सीताको यो गतिविधि देख्छिन्। भाउजू किन लुकीलुकी पिर्का हेर्छिन् भनेर उनलाई खुल्दुली हुन्छ। सीता नभएको मौकामा पिर्का ओल्टाइपल्टाइ हेर्छिन्। त्यसमा रावणको चित्र हुन्छ।

'हामी सबैको पूजा गरे पनि रावणको पूजा गदैनौं। रावणको पूजा गरे महिलाहरू रुन्चे हुन्छन् भनिन्छ,' मीठू फेरि चित्र वर्णन गर्न थाल्छन्।

यो वर्ष नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा) को विशेष पुरस्कार पाएको चित्रकला।

चित्रको बीचतिर दुइटा डोली हुन्छ। त्यसको माथि पाँच द्रोपदी लश्करै बनाइन्छ। जबकि, पाँच पाण्डवले एउटै द्रोपदी बिहे गरेको कथन छ।

केही थारूहरू दुइटा डोलीलाई राम र सीताको बिहेको संकेत पनि मान्छन्।

चित्रको सबभन्दा माथिल्लो भागमा पाँच पाण्डव बनाइन्छ। दायाँतर्फ सूर्य र बायाँतर्फ चन्द्रमा थपिन्छ। आयातकार चित्रमा त्रिकोणीय किनारा बनाइन्छ। चित्रभित्र हात्ती, घोडा, ऊँट लगायत जनावर चित्रकारले थप्छन्। अचेल थारू लोक कलामा नभएका, तर राम्रा देखिने जनावर पनि थप्ने क्रम बढेको छ।

'कृष्ण जन्माष्टमी तिथिमा पर्ने हुँदा थारू भाषामा यो कलालाई अष्टिम्की भनिएको हो। पहिले मैले परम्परागत दायरामा रहेर नियम पछ्याएर अष्टिम्कीमा काम गरेको थिएँ। अहिले कथाको पृष्ठभूमि नै फरक भएकाले चित्रमा परम्परागत क्रम भंग गरेको छु। लोककला शैली पछ्याए पनि यसले भन्ने कथा फरक छ,' मीठूले भने।

मीठूको चित्रमा त्रिकोणाकार, गोलाकार, वर्गकार लगायत चिह्न बढी देख्न सकिन्छ। थारू कलाको विशेषता पनि यही हो, ज्यामितीय शैलीमा बन्नु।

'मानवीय विकासक्रममा आकारहरू विकास भइसकेका थिएनन्। त्यो बेला चित्र बनाउँदा यस्तै ज्यामितीय आकारबाट सुरू गरेको भनिन्छ,' मीठूले भने, 'थारू लोककलामा यिनै आकार हुनुले यो कति पुरानो रहेछ भन्ने देखाउँछ। सजिलो देखिने ज्यामितीय शैली प्रस्तुत गर्नु नै थारू कलाको विशेषता हो।'

यही आकार प्रयोग गरेर थारूहरू खुट्टा, हात लगायत शरीरका भागमा गोदना वा छेदना भनिने 'ट्याटु' बनाउँछन्। घरका भित्ता सजाउँछन्।

थारू कलाको हरेक चित्रको रेखांकन कालो रङले गरिन्छ। यहाँ प्रयोग हुने रङहरू प्राकृतिक हुन्छन्। पृष्ठभूमिका लागि चामलको पिठो वा चुन प्रयोग हुन्छ। पातको रसबाट हरियो, फलफूलको रसबाट रातो रङ दलिन्छ। रातो, हरियो, सेतो, कालो, निलो यसमा प्रयोग हुने विशेष रङ हुन्। मीठूको चित्रमा पनि यिनै रङ बढी देख्न सकिन्छ।

चित्रमा मीठूले थारू जनजीवन झल्काउने गाउँ, घर, इनार, भाँडा, पुल, तेल पेल्ने कोल लगायत भौतिक संरचना समेट्ने प्रयास गरेका छन्।

कैलारी कथाको निम्ति चित्र बनाउन मीठूले करिब डेढ महिना लगाए। त्यसअघि विभिन्न छलफल, दाङमै पुगेर स्थलगत अध्ययन र 'स्टोरी बोर्ड'हरूमा काम गर्दा करिब ७–८ महिना लागेको उनी बताउँछन्।

'बाल चित्रकथा बनाउँदा धेरै समय दिइएको पाइँदैन। हामीले भने यसलाई पनि उत्तिकै महत्वमा राखेर काम गरिरहेका छौं,' सिर्जनालयकी संस्थापक सदस्य सारारे बज्राचार्यले भनिन्, 'हामीले त्यसरी काम गरेर थारू किताब निकाल्दा त्यसको भिजुअल नै बढेर आएजस्तो महशुस भएको छ।'

सन् २०१३ मा स्थापना भएको सिर्जनालयले कला–शिक्षाको काम गर्छ। विद्यार्थीहरूलाई कसरी रमाइलो तरिकाले पढाउन सकिन्छ भनेर शिक्षकहरूसँग सहकार्य गरिरहेको छ। कलाका कार्यशालाहरू पनि गर्छ।

थारू समुदायको किताब निकाल्नुअघि सिर्जनालयले गुरुङ र जलारी समुदायबारे अध्ययन गरेर किताब निकालिसकेको छ। अघिल्लो वर्ष मात्रै कवि तथा गीतकार दुर्गालाल श्रेष्ठका बाल गीतलाई बाल चित्रकथामा उतारेर प्रकाशन गरेको थियो।

'हाम्रो समुदायमा विभिन्न भाषा बोल्नेहरू हुनुहुन्छ। यी समुदायको आफ्नै कथा र इतिहास छन्। त्यो कुरा बालबालिकाले पढ्ने सामग्रीमा पनि आउनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो,' उनले भनिन्।

थारू लोक कलालाई यसरी बालकथामा उतार्ने काम गर्न पाउनुलाई मीठू ठूलो अवसरका रूपमा लिन्छन्।

'नेपालको बाल कथामध्ये थारू लोककलाको किताब नै बनेको थिएन जस्तो लाग्छ। यो मेरो लागि ठूलो अवसर हो। थारू लोककला एउटै परम्परागत ढाँचामा बनिरहेकोमा नयाँपन दिने प्रयासले यसलाई अझै धेरैमाझ पुर्‍याउँछ होला,' मीठूले भने।

साभार

जनआवाजको टिप्पणीहरू