अत्वार जेठ १४ | थारु संम्बत:२६४६
१४ जेष्ठ २०८०, आईतवार
May 28, 2023

थारू कथाका रोचक पात्र

१० आश्विन २०७८, आईतवार
थारू कथाका रोचक पात्र


दुखुवा थारूले दु:ख गरेर देउखुरीमा जग्गा जोड्छ। जमिनदारले त्यही जग्गा जफत गर्छ। सुखसँग गरिखान नदिएपछि दुखुवा गाउँ छाड्न बाध्य हुन्छ। गाई, गोरू र भेडा फुकाएर पत्नी दुखनियाँ, छोरी बिपटिया र छोरा मंगलवाका साथमा ऊ नयाँ यात्रामा निस्कन्छ।

चार जोडी पाइला अगाडि बढ्दै जान्छन्। पसिना बगाएको खेतबारी, हरिया फाँट र हुर्किएको गाउँ पछाडि छुट्दै जान्छ।

यात्राका संघर्ष पार गर्दै उनीहरू डाँडो काटेर फराकिलो फाँटमा पुग्छन्। उनीहरूलाई यही फाँट नयाँ बस्ती बसाउन उपयुक्त लाग्छ। कयौं दिन मौरीझैं खटिएर बालीनाली उमार्छन्। खेतबारी हराभरा पार्छन्। अनि त्यो ठाउँलाई नाउँ दिन्छन्- कैइलबारी। यसको अर्थ हो हरियाली।

मान्छेका जिब्रो बटारिँदै जाँदा कैइलबारी ‘कैलारी’ हुँदै ‘कैलाली’ भनिन थाल्छ।

यो साहित्यकार छविलाल कोपिलाले लेखेको बालकथा संग्रह ‘कैलारी‘ को कथा हो। कैलारीमा प्रमुख पात्र दुखुवा भए पनि यो समग्र थारू समुदायको दुःखको कथा हो।

‘जमिनदारले जग्गा हड्पेपछि पनि थारूहरूलाई सुख भएन। उनीहरू हातमुख जोड्न तिनै जमिनदारका घरमा दासझैं कमलरी भएर बस्नुपर्यो,’ छविलालले भने, ‘लामो समय शोषित भएर बसेपछि उनीहरू बसाइँ सर्न थाले। यही यथार्थ मैले कथामा उतारेको हुँ।’

एसिया फाउन्डेसनको ‘लेट्स रिड’ अन्तर्गत ‘सिर्जनालय’ संस्थाले थारू बाल किताब परियोजना सञ्चालन गरेको हो। यसअन्तर्गत छवटा किताब प्रकाशित भए- गिद्रक भोज (स्यालको बिहे), कैलारी, हमार ढुधु, लहेआ अऊर बछिया, खुट्रुक्या र भुख्ली।

कृष्णराज सर्वहारी, शान्ता चौधरी र छविलाल कोपिलाद्वारा लेखिएका यी किताब छ जना कलाकारले सचित्र डिजाइन गरेका छन्। तीमध्ये ‘कैलारी’ मा कैलालीकै कलाकार मीठू थारूले लोकचित्र ‘अष्टिम्की’ बनाएका छन्। उनको चित्रले यस वर्ष नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा) को विशेष पुरस्कार पाएको छ।

सिर्जनालयले सुरूमा थारू साहित्यकार र चित्रकार भेला गराएको थियो। चित्रकारसमक्ष कथा राखेपछि उनीहरूले आफ्नो रोजाइको कथामा काम थालेका थिए। मीठूलाई कैलारीको कथाले आकर्षित गर्‍यो। यस्तो घटना उनले आफैं देख्दै-भोग्दै आएकाले पनि बढी मन छोएको उनी बताउँछन्।

‘यो कथामा थारू समुदाय शोषक-सामन्त वर्गबाट कसरी पीडित भए भन्ने सचित्र वर्णन छ। कुनै समय दाङका थारूहरू कसरी बसाइँ सर्न बाध्य भए भन्ने बडो मार्मिक बयान कथामा छ,’ उनले भने, ‘यो मेरो पितापुर्खाले भोग्दै आएको कुरा हो।’

हाल कैलालीमा रहेका मीठूको पुर्ख्यौली बासस्थान दाङ रहेछ। आफ्नो जग्गा हुञ्जेल उनीहरू सम्पन्नै थिए। अन्य समुदाय आएर जग्गा कब्जा गरेपछि सबथोक छाडेर कैलाली सरे।

मीठूको परिवारले लामो समय जमिनदारकहाँ काम गर्‍यो। बाह्र वर्षको उमेरसम्म जमिनदारका गाईभैंसी चराएको उनको अनुभव छ। पछि काठमाडौंका एक जनाले काम गर्ने मान्छे खोज्दै आएपछि मीठूले पढ्न-लेख्न पाए। साँझ–बिहान घरको काम गर्दै स्कुलदेखि कलेजसम्मको पढाइ सके।

सानैदेखि मीठूलाई कलाप्रति झुकाव थियो। गाउँघरमा आँगन र खेतबारीमा खेल्दा उनी माटोबाट जीवजन्तु र देवदेवीका मूर्ति बनाउँथे। गिलो माटोमा सिन्काले विभिन्न आकृति कोर्थे। काठमाडौंको वातावरणमा मिसिएपछि उनले आफ्नो यही कलालाई व्यावसायिक रूपमा अघि बढाए। त्यसमा पनि आफ्नै समुदायको लोक चित्रकलालाई प्राथमिकता दिएका छन्। पछिल्लाे समय उनी थारू राजा मानिने डांगीसरणकाे मुर्तीहरूमा काम गरिरहेका छन्।